

पर्यावरणीय संकट र प्रविधिको तीव्र विस्तारबीच सन्तुलन खोज्ने उद्देश्यसहित त्रिवेणी इन्टरनेशनल कलेज र सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठानको संयुक्त आयोजनामा पर्यावरण संरक्षणमा प्रविधि प्रभाव र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम २०८३ जेठ ९ गते भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. इन्द्र प्रसाद तिवारी प्रमुख अतिथि तथा वरिष्ठ पत्रकार, साहित्यकार एवं सामाजिक अभियन्ता नारायण वाग्ले प्रमुख वक्ताका रूपमा सहभागी हुनुभएको थियो।

प्रमुख वक्ता वाग्लेले प्रविधि मानव सभ्यताको उपलब्धि भए पनि त्यसको असन्तुलित प्रयोगले प्रकृति र मानवीय संवेदनामाथि गम्भीर चुनौती थपिरहेको उल्लेख गर्नुभयो। उहाँले वातावरण संरक्षण केवल नीतिगत बहसको विषय नभई जीवनशैलीको संस्कार बन्नुपर्ने धारणा राख्दै, प्रविधिलाई प्रकृतिमैत्री सोचसँग जोड्न सके मात्र दिगो भविष्य सुनिश्चित हुने बताउनुभयो। कार्यक्रममा सहभागी विद्यार्थी, प्राध्यापक तथा बौद्धिक व्यक्तित्वहरूले उठाएका विविध जिज्ञासा र प्रश्नहरूको उहाँले गम्भीर, सरल र विचारोत्तेजक ढंगले समाधान गर्ने प्रयास गर्नुभएको थियो।


त्यसैगरी प्रमुख अतिथि प्रा. डा. तिवारीले आधुनिक विश्वविद्यालय र शैक्षिक संस्थाहरूले वातावरणीय चेतना, अनुसन्धान तथा हरित प्रविधिको विकासमा अग्रणी भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले विकास र वातावरणलाई प्रतिस्पर्धी होइन, परिपूरक शक्तिका रूपमा बुझ्नुपर्ने विचार व्यक्त गर्नुभयो।
कार्यक्रममा कलेज सञ्चालक समितिका अध्यक्ष सुमन भट्टराईले प्रविधिको विकाससँगै वातावरणीय उत्तरदायित्व र मानवीय संवेदनशीलता पनि समान रूपमा बढाउनुपर्ने उल्लेख गर्दै युवापुस्ताले प्रकृति संरक्षणलाई जीवनको संस्कारका रूपमा आत्मसात् गर्नुपर्ने धारणा राख्नुभयो।


त्रिवेणी इन्टरनेशनल कलेजका क्याम्पस प्रमुख डिल्ली राम पौडेलले उपस्थित सबैमा स्वागत अभिनन्दन गर्दै शिक्षालय केवल पाठ्यपुस्तकको घेरा नभई समाज रूपान्तरणको चेतनास्थल हुनुपर्ने बताउनुभयो।
कार्यक्रमका सभापति तथा सुरज पौडेलले यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरूले समाजमा वैचारिक जागरण र जिम्मेवार नागरिक चेतना विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले प्रविधिको प्रयोग मानव र प्रकृतिको हितमा केन्द्रित हुनुपर्ने उल्लेख गर्दै शिक्षित पुस्ताले वातावरणीय उत्तरदायित्वलाई व्यवहारमा उतार्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
अन्तर्क्रियामा डा. भूमिराज बस्ताकोटी, प्रा. डा. जगन्नाथ रेग्मी, आनन्द रिमाल, डा. भानुभक्त कँडेल, शिवमणि भण्डारी, डा. आरुणी लगायतले वातावरण, प्रविधि, शिक्षा र सामाजिक चेतनासँग सम्बन्धित विविध जिज्ञासा तथा धारणा राख्नुभएको थियो।



सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठानका उपाध्यक्ष श्रीधर न्यौपानेले सञ्चालन गर्नु भएको उक्त कार्यक्रम विचार, चेतना र जिम्मेवारीको सुन्दर संगमका रूपमा सम्पन्न भएको थियो।
बौद्धिक बहस, सहभागीहरूको उत्साहपूर्ण उपस्थिति र सशक्त अभिव्यक्तिका कारण कार्यक्रम अत्यन्त भव्य, सभ्य र प्रभावकारी बन्न पुगेको थियो।

