त्रिवेणी इन्टरनेशनल कलेजमा साइबर अपराध नियन्त्रण तथा सचेतना कार्यक्रम सम्पन्न ।

जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वय तथा त्रिवेणी इन्टरनेशनल कलेजको आयोजनामा “साइबर अपराध नियन्त्रण तथा सचेतना कार्यक्रम” सम्पन्न भएको छ। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका वरिष्ठ नायब निरीक्षक हुत बहादुर (एच.बी.) रोकाले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा बिबिएस तहका जम्मा ७७ जना विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै वरिष्ठ नायब निरीक्षक एच.बी. रोकाले प्रविधिको तीव्र विकाससँगै साइबर अपराध पनि बढ्दै गएको उल्लेख गर्दै सामाजिक सञ्जालको प्रयोगमा अत्यन्त सचेत रहनुपर्ने बताउनुभयो। उहाँले साइबर बुलिङ, फेसबुक तथा अन्य डिजिटल माध्यममार्फत हुने ठगी, व्यक्तिगत गोपनीयताको दुरुपयोग, ह्याकिङ लगायतका गतिविधिबाट जोगिन कानुनी सचेतना आवश्यक रहेको धारणा राख्नुभयो। “कानुनको अज्ञानता क्षम्य हुँदैन, त्यसैले डिजिटल संसारमा प्रत्येक व्यक्तिले जिम्मेवार र सचेत भएर व्यवहार गर्नुपर्छ,” भन्दै उहाँले विद्यार्थीहरूलाई सामाजिक सञ्जाल प्रयोग गर्दा आफ्नो भाषा, व्यवहार र गतिविधिप्रति संवेदनशील बन्न आग्रह गर्नुभयो। उहाँका विचारहरूले विद्यार्थीहरूलाई साइबर सुरक्षाप्रति थप जिम्मेवार र जागरूक बन्न प्रेरित गरेको थियो।

कार्यक्रमको सुरुवातमा क्याम्पस प्रमुख डिल्ली राम पौडेलले स्वागत मन्तव्य व्यक्त गर्दै वर्तमान समयमा साइबर सचेतना प्रत्येक विद्यार्थीका लागि अपरिहार्य विषय बनेको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा व्यवहारिक ज्ञान अभिवृद्धि गर्नुका साथै सुरक्षित डिजिटल संस्कृतिको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख सुनिल दत्त बरालले गर्नुभएको थियो। कार्यक्रममा कलेजका उपप्राध्यापकहरू, विद्यार्थी कल्याणकारी समितिका पदाधिकारी तथा सदस्यहरूको समेत सक्रिय सहभागिता रहेको थियो। कार्यक्रम विद्यार्थीहरूका लागि ज्ञानमूलक, प्रभावकारी तथा समयसापेक्ष बनेको सहभागीहरूले बताएका थिए।