त्रिवेणी इन्टरनेशनल कलेज (TIC) विद्यार्थी कल्याणकारी समिति (SWC) को नवौँ अधिवेशन तथा दशौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। अधिवेशनले स्वछन्द आत्रेयको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ।
कार्यक्रममा बीबीएस चौथो वर्षमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। ८१.२० प्रतिशत अंकसहित उत्कृष्ट नतिजा हासिल गर्ने कविता भट्टराई लगायतका मेधावी विद्यार्थीलाई सम्मान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि कलेज सञ्चालक समितिका अध्यक्ष सुमन भट्टराईले विद्यार्थीको नेतृत्व विकास, अनुशासन र सिर्जनात्मक सहभागिताले कलेजको शैक्षिक वातावरणलाई थप प्रभावकारी बनाउने बताए। कलेजका सल्लाहकार एवं पूर्व अध्यक्ष बाबुराम गिरीले विद्यार्थी कल्याणसँगै व्यक्तित्व विकासमा समितिको भूमिका महत्त्वपूर्ण रहेको धारणा राखे। कलेज सञ्चालक एवं FNCCI का केन्द्रीय सदस्य छत्रधर आत्रेयले विद्यार्थीलाई अध्ययनसँगै व्यावहारिक ज्ञान र नेतृत्व क्षमताको विकासमा जोड दिनुपर्ने बताए।
कलेज प्रमुख डिल्ली राम पौडेलले विद्यार्थी कल्याणकारी समिति कलेज र विद्यार्थीबीचको महत्त्वपूर्ण सेतु भएको उल्लेख गर्दै नयाँ नेतृत्वले विद्यार्थीका शैक्षिक, सिर्जनात्मक तथा सामाजिक गतिविधिलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे। समितिका संस्थापक अध्यक्ष कमल गौतमले संस्थाको विगतको यात्रा स्मरण गर्दै विद्यार्थीको सक्रियता र नेतृत्व विकासलाई निरन्तरता दिनुपर्ने बताए।
सम्मानित विद्यार्थीका तर्फबाट मेधावी छात्रा कविता भट्टराईले सम्मानले आगामी शैक्षिक यात्रामा थप प्रेरणा र जिम्मेवारीबोध गराएको बताइन्। नवनिर्वाचित अध्यक्ष स्वछन्द आत्रेयले विद्यार्थीका साझा आवश्यकता र हितलाई केन्द्रमा राखेर समितिलाई सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरे।




निर्वाचन कार्यक्रम एकेडेमिक कोअर्डिनेटर शिव चन्द्र घिमिरेको संयोजकत्वमा उपप्राध्यापक सत्यराज कँडेल र उपप्राध्यापक किशोर सुवेदी सदस्य रहेको तीन सदस्यीय निर्वाचन मण्डलले सम्पन्न गरेको थियो।


विवेक के.सी.को अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वछन्द आत्रेयले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रम सञ्चालन सागर तिवारीले गरेका थिए। सहायक क्याम्पस प्रमुख सुनिल दत्त बरालले कार्यक्रमको सहजीकरण गरेका थिए।



